२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

२४ मंसिर, बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल खाली गर्न बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ ।

थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।

विज्ञप्तिमा विहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भए पछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।

थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसो देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउदै आएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १२:०७