१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

२३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाइएको बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी रहेको छ ।
एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुँदैछ ।

प्रकाशित मिति : December 9, 2025 at 4:31 pm