२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेकपाको सुदूरपश्चिम कमिटीमा अन्तरकलह, प्रधानमन्त्री धनगढी नआउने भएपछि ट्वाँ परे थापा

१८ माघ, धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा तत्कालीन एमालेभित्र बढेको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली आगामी आइतबार धनगढी आउने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीले आइतबार नै सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

त्यस्तै, सोही दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो भने सोमबार (२१ गते) कैलाली उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको थियो ।

गत साता नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा अध्यक्ष कर्णबहादुर थापाले आफू सर्वेसर्वा भएको भन्दै आफू निकटका केही व्यक्तिलाई राखेर अगुवा कार्यकर्ता भेलाको तयारी समिति गठन गर्न खोजेपछि बैठक स्थलमै प्रदेश समिति सदस्य मीन बहादुर कुँवरले थापाको हैकमबादी ब्यवहारको प्रतिकार गरेका थिए । नेकपा स्रोतका अनुसार विवाद बढ्दै गएपछि नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठक नै स्थगित भएको छ ।

प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तयारीका लागि समिति गठनका विषयमा वैठकमा विवाद भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीको धनगढी आउने कार्यक्रम स्थगित भएको छ । यससंगै धनगढीका आयोजना गर्न लागिएको प्रदेश स्तरीय कार्यकर्ता भेला समेत स्थगित भएको बताइएको छ ।

बैठकमा सदस्यहरूले अध्यक्ष थापासंग “प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टसंग बैठकका विषयमा किन छलफल नगरेको ?” भन्दै आक्रोश पोखेका थिए । बैठकमा केही प्रदेश सदस्यले इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको जानकारी बिना नै बैठक बोलाएकोमा आपत्ति जनाएपछि थापा हायलकायल बनेका थिए ।

प्रधानमन्त्री नआउने बुझेपछि अध्यक्ष थापा काठमाडौ गएर प्रधानमन्त्री ओलीलाई ल्याई छाड्ने नभए आफूले प्रदेश अध्यक्षबाट राजिनामा दिने भन्दै धनगढी छाडेका थिए । बिभिन्न श्रोत मार्फत प्रधानमंत्रीलाई धनगढी ल्याउन पहल गर्दा सफल नभएपछि सिंहदरवारमै गुटको भेला आयोजना गरेका थिए ।

प्रधानमंत्री धनगढी नजाने निश्चित भएपछि लज्जित बनेका थापाले गुटको भेलामै प्रेस संगठनका केन्द्रीय सदस्य एकिन्द्र कुँवरलाई सार्वजनिक स्थलमै पिटिदिने भन्दै गुटका केही नेतालाई आश्वस्त तुल्याएका थिए । कुँवरले थापा धनगढीबाट हिडेको थाह पाउने बित्तिकै प्रधानमंत्री कुनै पनि हालतमा धनगढी नजाने ठोकुवा गर्दै राजिनामा दिन सुझाएर फेसबुकमा स्ट्याटस लेखेका थिए ।

थापाले पार्टी संचालनमा गुट सृजना गरेर केही नेतालाई आफ्नो अभियानमा सहमत गराउने प्रयास गरे पनि सफल नभएकोे स्रोतको भनाई छ । नेकपा नेताहरु रावल, भट्ट, थापा र प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशीबीच छलफल भएर प्रधानमन्त्रीलाई धनगढी ल्याउने तय भएको थियो । इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको उपस्थितिमा प्रदेश कमिटीको पहिलो बैठकले पनि प्रधानमन्त्रीलाई धनगढी ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार २१:४५