१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

१७ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो ।

“नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ”, मन्त्री घिसिङले भन्नुभयो । सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उहाँले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताउनुभयो ।

राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गर्नुभयो । उहाँले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पार्नुभयो ।

“आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो, “यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।”

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १७:२५