११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ मंसिर, काठमाडाैं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिक्लेस हाइड्रोपावर र आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित यस दिन गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिक्लेसले मंसिर १८ गते बुकक्लोज गर्दैछ भने आइसिएफसिले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। भोली अर्थात मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा छ। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी दुई कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिक्लेसले मंसिर २९ गते आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा २० औँ र २१ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, आइसिएफसि फाइनान्सले मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : December 3, 2025 at 9:37 am