२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

आइएमई लाइफकाे नयाँ बोनसदर घोषणा, अधिकतम ८० रुपैयाँसम्म पाइने

१५ मंसिर, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा गरेको हो।

कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ ।  कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमा योजनाका सबै बीमा अवधिका लागि समान २२ रुपैयाँ र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कम्पनीले बोनस दिने भएको छ।

साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०९:५१