२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

सदस्यता माथि केपी ओलीको ‘कु’ले नरोकिएको विद्याको एमालेसँगको नाता

११ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई शुभकामना दिनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयको हवला दिँदै एजेण्डाबिनाको निर्णय भनेर विद्याको सदस्यता ‘कु’ गरेको घोषणा गर्नुभए पनि विद्याले एमालेप्रतिको माया र लगाव छोड्नुभएको छैन् । बिहीबार बिहानै उहाँले फेसबुक मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रतिनिधि छनौटका लागि शुभकामना दिनुभएको हो ।

dainiki.com

भण्डारीले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तो छ उहाँको शुभकामना सन्देश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।

विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ ।

मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।

सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ०८:११