१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै ओलीलाई पोखरेलको आग्रहः सहज निकास दिनुस्

९ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्दै  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहज निकास दिन आग्रह गर्नुभएको छ । पोखरेलले आज एक वक्तव्यमार्फत यस्तो बताउनुभएको हो ।

पोखरेलद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।’

dainiki.com

उहाँले भन्नुभएको छ, ‘पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदैछ । उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु ।’

उहाँले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको बताउनुभएको छ । पोखरेलले ओलीलाई अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि आग्रह समेत गर्नुभएको छ

प्रकाशित मिति : November 25, 2025 at 6:30 pm