९ किलो यार्सागुम्बा र २० लाखसहित काठमाडौंबाट २ जना पक्राउ
९ मंसिर, काठमाडौं। ९ किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबजारबाट पक्राउ गरेको हो। उनीहरुबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताउनुभयाे ।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डीभीजन वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १८:०४












