२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

एमाले नुवाकोटको अबैध असुली प्रयासमा संगठन विभागको अबरोध, शुल्कको सीमा तोकियो

९ मंसिर, नुवाकोट । नेकपा (एमाले) नुवाकोटले महाधिवेशन प्रतिनिधि छनोटका नाममा इच्छा जाहेर गर्नेबाट १० हजार रूपैयाँ असुल गर्ने गरी परिपत्र गरेपछि केन्द्रीय संगठन विभागले अबरोध गरेको छ ।

नुवाकोटको परिपत्र बाहिरिएर सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत बिरोधका आवाजहरू बाहिर आएपछि एमालेको केन्द्रीय संगठन विभागले ६ बुँदे परिपत्र गर्दै उम्मेदवारसँग बढीमा एक हजार रूपैयाँ भन्दा बढी अशुल गर्न नपाइने जनाएको छ ।

एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको हस्ताक्षरमा जारी भएको १० हजार रूपैयाँ अशुल गर्ने परिपत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले फेसबुकमा परिपत्र सार्वजनिक गरेपछि सेतोपाटीसहितका विभिन्न सञ्चार माध्यले उक्त परिपत्रका आधारमा समाचारहरू पनि प्रकाशित गरेका थिए भने सञ्चालमा नेता र कार्यकर्ताले १० हजार अशुल गर्ने निर्णयको बिरोध गरेका थिए ।

संगठन विभागको सोमबार राति बसेको भर्चुवल बैठकले प्रतिनिधि आवेदन शुल्क अधिकतम रु। १००० सम्म तोक्न सकिने निर्णय गरेर परिपत्र गरेको छ । विभागले निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा अघि प्रत्येक क्षेत्रले केन्द्रीय कार्यालयको परिपत्र अनुसार अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै विभागले प्रकाशित मतदाता सूचीको संख्या तत्काल केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र प्रतिनिधि छनौट निर्वाचन विधिबाट गर्न पनि निर्देशन जारी गरेको छ । संगठन विभागले मंसिर १२ सम्म सहमति निर्माणको लागि प्रयास गर्ने र सहमति नभए मंसिर १३ गते अनिवार्य रूपमा मतदान मार्फत प्रतिनिधि छनौट गर्न भनेको छ ।

एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको हस्ताक्षर गरी जारी भएको १० हजार रूपैयाँ अशुल गर्ने परिपत्र ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार ०७:४४