मुद्दा फैसला भएर पनि फरार रहेका कैलालीका १४९ प्रतिवादी पक्राउ
८ मङ्सिर, सुदूरपश्चिम । कैलाली जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भएर कैद तथा जरिवाना तीर्न बाँकी रहेका १४९ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च तथा स्वीप अपरेशन’को क्रममा ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको बताउनुभयो । “पछिल्लो एक हप्तामा उल्लेखित प्रतिवादीलाई पक्राउ गरिएको हो, यसअघि एकैदिन ४२ प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थियौँ । पक्राउ पर्नेमा फैसला भएर पनि अदालतमा उपस्थित नहुनेहरू छन्”, उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टा छुट्टै टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेका हुन् ।पक्राउ पर्नेमा लागुऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन् ।
यसैबीच गत भदौ २३ र २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता सिंहले बैतडी घर भई धनगढी उपमहानगरपालिका बस्ने २४ वर्षीय भरत बम, धनगढीकै २४ वर्षीय आशिष भण्डारी र ३० वर्षीय अमन केसीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार २२:१३












