सभापति देउवाकै हस्ताक्षरमा चुनाव लड्ने होइन, अब विशेष महाधिवेशन हुन्छः गगन थापा
८ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताउनुभएकाे छ । हिजो कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले लेख्नुभएकाे छ, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?, ‘मैले भने : होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भनेँ– प्रष्ट छ ।’
महामन्त्री थापाले विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र निर्वाचित सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्ने बताउनुभएकाे छ । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ,’ उहाँले लेख्नुभएकाे छ, ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’
उहाँले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भन्नुभएकाे छ, ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको, अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।’
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १४:३७












