१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आगामी बजेटबाटै बृद्ध भत्ता बृद्धि गर्ने प्रधानमन्त्री ओलीको घोषणा

१७ माघ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट भाषणबाट जेष्ठ नागरिकको बृद्धभत्ता बृद्धि गर्ने घोषणा गर्नुभएको छ । कम्युनिष्ट सरकारले नै बृद्धभत्ताको सुरवात गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गतेको बजेट भाषणबाट बृद्धभत्ता बृद्धि हुने घोषणा गर्नुभएको हो ।

झापाको दमक नगरपालिकाले आजदेखि दमकमा आयोजना गरेको पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अव देशको चिन्ता कसैले लिनु पर्ने दिन कहिल्यै नआउने वताउनुभयो । उहाँले भन्नुभयो,–‘सरकारले चौतर्फी तीव्र गतिले काम गरेको छ, त्यसैले अव कसैले पनि देशको चिन्ता लिने दिन आउदैन् ।’ प्रधानमन्त्री ओलीले अहिलेको सरकार बालबालिका मैत्री, युवा किशोरहरुको निमित्त काम गर्ने, गरिवहरुको लागि काम गर्ने , उद्योगी, किसान, मजदुर सबैका लागि हित गर्ने रहेकाले यो सरकार देशको विकाश गर्न नेतृत्व गर्न तयार रहेको र गरिरहेको बताउनुभयो ।

ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीवाट नेपालले फड्को मार्ने जोड दिनुभयो । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडी बढेको वताउनुहुदै उहाँले विकास र समृद्धिको महान यात्रामा अव सवै नेपालीहरु एक ढिक्का हुनु पर्ने खाँचो रहेको औल्याउनुभयो । प्रधानमन्त्री ओलीले नेपालका खानीहरुको उत्खनन् गर्ने, कृषिलाई आधुनिक र व्यवसायीकरण गर्दै समृद्धि नेपाल सुखी नेपालको लक्ष्य हासिल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १८:२६