प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता
५ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भन्नुभयाे, ‘प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भइसकेको छ । यसैगरी २८ दल दर्ता प्रक्रियामा रहेका छन् ।’
उहाँका अनुसार आयोग निर्वाचनको सुरक्षा, व्यवस्थापन र अन्य तयारीहरू कार्ययोजना अनुसार अगाडि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई निर्दिष्ट समय कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयाे ।
मतदाता विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ । विवरणमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउन सकिने आयोगले जनाएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १७:५२












