मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव पारित गरेसँगै मण्डल पदमुक्त हुनुभएको हो ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।
मधेस प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त हुनुभएको हो ।
प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १८:०३








