सिमरा क्षेत्रमा एमाले र जेनजी युवाबीच झडप, बेलुकी ८ बजेसम्म कर्फ्यू
३ मंसिर, काठमाडाैं । बाराको सिमरामा नेकपा एमालेका नेता कार्यकर्ता र जेनजी पुस्ताका युवाबीच झडप भएको छ । एमालेनिकट युवा संघको जागरण सभालाई लिएर सिमरा विमानस्थलमा तनाब सिर्जना भएको हो। झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत सिमरा जाँदै थिए। उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्। जेनजी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
वातावरण अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश समेत जारी गरेको छ। सीडीओ धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १२:४५












