२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मंसिर २६ गतेबाट प्रदर्शनमा आउँदै चलचित्र लोकन्ती

३ मंसिर, काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रदर्शन मिति संगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। यसै चलचित्र मार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। आफ्नो डेब्यु चलचित्रलाई लिएर दुवै जना उत्साहित छन्।

संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन्। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : November 19, 2025 at 11:40 am