७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माछापुच्छ्रे एसआइपी योजना मंसिर १४ गतेदेखि निष्काशन गर्दै माछापुच्छ्रे क्यापिटल

१ मंसिर, काठमाडाैं । माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो।

यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०९:२९