नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
२९ कात्तिक, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक स्थगित भएको छ । सल्लाहकारको विषयमा नेपाल प्रेस युनियनमा आवद्ध रहेका महासंघका पदाधिकारीले बखेडा झिक्दा समस्या भएको बुझिएको छ ।
महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले सल्लाहकारको विषयमा विवाद हुँदा बैठक स्थगित भएको जानकारी दिनुभयो । विधान अनुसार निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र अध्यक्षका निकटम प्रतिस्पर्धी सल्लाहकार हुनुपर्ने भए पनि केही पदाधिकारी र सदस्यले कार्यबाहक अध्यक्षलाई सल्लाहकार बनाउनुपर्ने माग गरेका छन ।

यही विषयमा विवाद हुँदा शनिबार बिहान १० बजेका लागि सिद्धार्थ कटेजमा बोलाइएको बैठक बस्दै नबसी साँझ ६ बजे स्थगित भएको छ । बैठक अनिश्चितकालका लागि स्थगित भएको महासंघको उपत्यका प्रदेश अध्यक्ष टेनिस रोक्काले जानकारी दिनुभएको छ । ८ घण्टादेखि विवाद निरन्तर चले पनि सहमति नभएको बुझिएको छ । विधान विपरितको माग गर्नेहरूले नै बैठक चल्न नदिने अडान लिएको बुझिएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार १८:०७












