१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

विद्युत बिक्री आम्दानीसँगै अपि पावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२६ कात्तिक, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.७८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म २ हजार रुपैयाँ अन्य आम्दानी र ७७ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६ हजार , बिक्री/वितरण खर्च ५ करोड ९२ लाख र वित्त खर्च ११ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार ०९:२२