१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

रामकुमारी झाँक्रीलाई स्वागत गरेर एमालेले घरफर्क अभियान घोषणा गर्ने

२४ कात्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित केही नेता आज सोमबार नेकपा (एमाले) प्रवेश गर्दै हुनुहुन्छ । झाँक्रीसहितका केही नेतालाई एमालेमा स्वागत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्क अभियानको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा गृहमा २ बजेर ३० मिनेटमा एमाले छाडेर अन्त पुगेकाहरूलाई निमन्त्रणा गरिएको छ । एमालेले यो अभियान देशैभर चलाउने भएको छ । विगतमा एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादी पार्टी तीन टुक्रा बनेको छ ।

dainiki.com

अध्यक्ष माधवकुमार नेपालले एउटा समूह लिएर माओवादीसहितको नयाँ पार्टी घोषणा गर्नुभएको छ भने महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनको घोषणा गरेर माओवादीमा पनि जान नसक्ने र एमालेमा पनि तत्काल फर्किने सम्भावना नभएकाहरूको छुट्टै नयाँ कमिटी घोषणा गर्नुभएको छ । त्यस्तै स्थायी कमिटी सदस्य झाँक्रीको नेतृत्वमा किसान श्रेष्ठ, पिताम्बर तिमल्सिना लगायत सोमबारबाट एमाले फर्किदै हुनुहुन्छ ।

एमाले फर्किनुअघि झाँक्रीले फेसबुक मार्फत अभियान आफूहरूकै लागि भएकाले सहभागी बनिदिन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

त्यसअघि उहाँले गुल्मी २ मा गत चुनावमा आफूलाई सहयोग गर्ने कांग्रेस र माओवादीका मतदाताहरूलाई पनि सम्झाउने कोशिश गर्नुभएको छ । उहाँले एमाले प्रवेश गरे पनि समस्या नमानिदिन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो। तपाईहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ। खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफै जस्तो ठान्नु भयो। यो सहयोग, सदभाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु। मैले केही निर्णय लिदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति : November 10, 2025 at 7:02 am