काठमाडौँ फोटोग्राफर संघको अध्यक्षमा घिमिरे
२३ कात्तिक, काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे चयन हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न संघको सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन भएको हो । अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत चयन भएपनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष घिमिरेसहित, उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना पदाधिकारी चयन हुनुभएको हो ।
यसैगरी ११ जना कार्यसमिति सदस्यहरु चयन हुनुभएको छ । जसमा केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहनुभएको छ ।
काठमाडौँ फोटोग्राफर संघको विधान अनुसार नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
अध्यक्षमा निर्वाचित भएपछि घिमिरेले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताउनुभयो । उहाँले फोटोग्राफरहरुलाई नयाँ प्रविधि मैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।
त्यसैगरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफी सम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने बताउनुभयो ।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १७:४६












