छुट्ला है ! एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२३ कात्तिक, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ०८:५८












