नेपाल ट्रष्टको घोटलामा छिर्यो सिआइबी, कार्की पक्राउ, ओलीसम्म तानिने सम्भावना
२२ कात्तिक, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले यति समूहको बहुचर्चित जग्गा प्रकरण नेपाल ट्रष्टमा कार्यरत तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर यसको सूचना दिनुभएको छ ।
श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघात देखिएको छ ।
पक्राउ परेका कार्की चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका १५ का हुन । यस प्रकरणमा संलग्न रहेका अन्य पनि पक्राउ पर्दैछन । यति समूहअन्तर्गतको कम्पनी हो थामशेर्कु ट्रेकिङ ।दरबारमार्गको कित्ता नं. ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने र लिने विषयमा ट्रष्ट सञ्चालक समितिको निर्णय र आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४।०२।१४ गते करार सम्झौता भएको सिआइबीले उल्लेख गरेको छ । त्यस समय शेरबहादुर देउवा प्रधानमन्त्री रहनुभएको थियो । ‘लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्द रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरुले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुऱ्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको।’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।
ब्यूरोले कांग्रेस र माओवादीको सरकारको पालाको निर्णमा ब्यूरोले अनुसन्धान अघि बढाएपछि अब एमाले र माओवादीको सरकारको पालामा भएकोमा निर्णयमा पनि अनुसन्धान हुने बताइएको छ । ट्रष्टको गोकर्णमा रहेको ३ हजार ९ सय ७१ रोपनी जग्गामध्ये २ हजार ७ सय ९२ रोपनी यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिने निर्णय २०७६ मंसिर २३ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । १ करोड ८ लाख २३ हजार २ सय ५ अमेरिकी डलर भाडा लिने गरी सन् २०५० अगस्ट १४ सम्मका लागि लिज अवधि थप्ने निर्णय भएको थियो । उक्त निर्णय एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार १५:४९












