इटा भट्टामा ज्यूँदै मान्छे पोलेका कांग्रेस नेता मोहम्मद अफताव आलमको निधन
२२ कात्तिक, काठमाडाैँ । इटा भट्टामा ज्यूँदै मान्छे पोलेका नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको उपचारको क्रममा निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा एक महिनादेखि भर्ना भएर उपचार गराइरहनुभएको आलमको गएराति निधन भएको छोरा डा. राजीक आलमले पुष्टि गर्नुभएको छ ।
स्वास्थ्य अवस्था खराब भएपछि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । इटाभट्टामा नागरिकलाई ज्यूँदै जलाएको अभियोगमा कारागारमा रहनुभएको उहाँ जेठ १४ गते नख्खु कारागारबाट मुक्त हुनुभएको थियो । कारागारमुक्त भएको केही दिनमै उहाँलाई मस्तिष्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो भने पछि भारतमा लगेर उपचार गरिएको थियो ।
अफतावको बिगत
आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बन्नुभएको थियो । उहाँ विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।
स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताउनुभएको थियो ।
निधन अघि जघन्य अपराधमा अदालतको सफाइ तर जनताको नजरमा पाएनन्
बम विस्फोट गरी ज्यूँदै मान्छे इटा भट्टामा जलाएको आरोप खेपेका कांग्रेसका पूर्वसांसद आलमले अदालतबाट भने सफाइ पाउनुभएको थियो । जिल्ला अदालत रौतहटले उहाँलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । तर त्यसपछि मिडिया र सामाजिक सञ्जालमा नागरिकहरूले आलमलेको सफाइ लेनदेनमा भएको भन्दै चर्को बिरोध गरेका थिए ।
संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा अफताव दोषी ठहर हुनुभएको थियो । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
त्यसअघि आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उहाँको भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
सफाइ दिने न्यायाधीश नै छानविनमा
आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वाेच्च अदालत तानिनुभएको थियो । फैसला माथि प्रश्न उठेर कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी परेपछि परिषद्ले काजमा सर्वाेच्च तान्ने निर्णय गरेको हो । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूत र युवराज पौडेल सफलले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित उजुरी दिनुभएको थियो ।
प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार ०७:४८












