२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

विकास बैंकहरुको नाफा साढे ७८ करोड, लुम्बिनीकाे नाफा ऋणात्मक

२१ कात्तिक, काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विकास बैंकहरुले साढे ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुले समिक्षा अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको साेही अवधिकाे तुलनामा ४५.२० प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा ती बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा तीन वटा बैंकहरुको नाफामा गिरावट आएको छ भने बाँकीको नाफा बढेको छ । लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको हो ।

पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेकाे छ । याे अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले तीन महिनामा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आवको तुलनामा भने २०.२४ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ  । यो नाफा गत आवको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, कामना सेवा विकास बैंककाे नाफा १२.९२ प्रतिशतले बढेकाे छ । तीन महिनामा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १७ करोड ४९ लाख रुपैयाँ रहेको थियो । ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा बढाउनेको पहिलो नम्बरमा सांग्रिला डेभलपमेन्ट बैंक रहेकाे छ । बैंकको नाफा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकले पनि नाफा ३.४२ प्रतिशत बढाएर ९ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।

असोज मसान्तसम्मको अवधिमा लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । याे अवधिमा बैंकमा ३ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा देखिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १४:३८