कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, प्रतिसेयर आम्दानी कति ?
२१ कात्तिक, काठमाडाैं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएकाे थियो।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ ।समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १०:१५












