३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता होः नेता खनाल

१९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”

एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “आज नयाँ अवस्थामा पार्टीलाई एकतामा रुपान्तरण गरेका छौँ, तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनायौँ, तर किन जोगाउन सकेनौँ ? गम्भीर आत्मसमीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।”

नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गर्नुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १६:५०