सरकारको संवैधानिक परीक्षण हुनुपर्छः महासचिव पोखरेल
१७ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उहाँले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गर्नुभयो ।
महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गर्नुभयो । उहाँले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप लगाउनुभयो । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उहाँले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले राज्यमाथि नियोजित रूपमा आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै प्रहरी प्रशासनको मनोवल उच्च राख्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जेलबाट भागेका मानिसहरूले दैनिकजसो कुनै न कुनै घटना गराइरहेकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:३७








