२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

प्रधानमन्त्रीको सचिवालयले भन्योः कसैको दवाव र प्रभावमा मन्त्री हटाइँदैन

१३ कात्तिक, काठमाडाैं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस नोट जारी गर्दै कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रमा पर्ने जनाएउनुभएकाे छ ।

 प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै छ ’ सचिवालयको विज्ञप्तिमा भनिएको छ ।

अहिलेको संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन श्रेष्ठले अपिल गर्नुभएकाे छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार ११:०४