२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देश परिवर्तनको सन्देश बोकेको फिल्म परिवर्तनको टिजर सार्वजनिक

१० कात्तिक, काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’

विजय केरुङको निर्देशनमा बनेको यो फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पुर्‍याउन खोजिएको बताए। उनका अनुसार चलचित्रले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ। शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको वितरण आर आर फिल्मस्ले गर्नेछन भने डिजिटल पार्टनर ओएस आर रहेको छ।

प्रकाशित मिति : October 27, 2025 at 4:18 pm