एमाले मुख्यालय अब पालमुनी, विष्णु रिमालको समुपस्थितिमा सुरू भयो तस्बिर कैद गर्ने काम
८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)को मुख्यालय अब त्रिपालमुनी सञ्चालन हुने भएको छ । त्रिपाल मुनी टेबल र कुर्सी राखेर उपमहाचिव विष्णु रिमालको उपस्थितिमा तस्बिर कैद गरेर केन्द्रीय कार्यालय सुचारु भएको सन्देश फेसबुक मार्फत बाँडिएको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले त्रिपालमुनीको दुई तस्बिर सार्वजनिक गर्दै केन्द्रीय कार्यालय सञ्चालनमा आएको जानकारी दिनुभएको छ । भदौ २४ को जेनजी बिद्रोहमा एमालेकै पूर्व नेता प्रभु शाहका छोरा सहितको समूहले तुलसीलाल अमात्य प्रतिष्ठानसँग भाडामा लिएको हाइटेक कार्यालयमा तोडफोड र आगजनी गरेपछि एमाले नेताहरू कार्यालयको आसपासको चियापसलमा भेटेर गफिने गरेका थिए ।

शनिबार कार्यालय सुचारू भएको सन्देश दिने कार्यको तस्बिरमा स्थायी कमिटी सदस्यद्धय भानुभक्त ढकाल र राजन भट्टराई र एमालेको आर्थिक तथा लेखा विभागका शक्तिशाली सदस्य लोकबहादुर भण्डारी रहनुभएको छ । जेनजी विद्रोहमा सबैभन्दा बढी भौतिक क्षति एमालेको कार्यालय र नेताको घरमा आक्रमणबाट भएको छ । यद्यपी कतिपय नेताको घर र पार्टी कार्यालयको आगजनीमा एमालेकै नेता र कार्यकर्ता संलग्न भएको पाइएको छ ।
एमाले यतिखेर केन्द्रीय कमिटीबाट घोषित महाधिवेशन समेत केही पछि सारेर संसद पुनःस्थापना गरेर जेनजी विद्रोहबाट अपदस्थ भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने एकमात्र लक्ष्यमा केन्द्रीत भएको छ । नेताहरूले पार्टीलाई क्षति पुगे पनि ओलीलाई क्षति पुग्न नहुने भन्दै फेरि आइ लभ यू केपी बा र वी लभ यू केपीको नारा लगाउन एउटा छुट्टै समूह नै बनाएर परिचालन गरेका छन । उनीहरूले ओली जहाँ पुग्छन त्यही पुगेर नाराबाजी गर्ने काम गर्नेछन ।
प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार १७:०७












