सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)ले प्रस्तुत गरेका पाँच बुँदा यस्ता छन
४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदीय बैठकमा नेकपा (माओवादी केन्द्र)ले पाँच बुदामा आफ्नो पार्टीको धारणा राखेको छ । उपमहासचिव वर्षमान पुनका अनुसार बैठकमा माओवादीका र्तफबाट राखिएका पाँच बुँदा यस्ता रहेका छन ।
१. निर्वाचन सहभागिता र सहयोग: नेकपा (माओवादी केन्द्र) ले चुनावमा भाग लिने निर्णय गरिसकेको छ। मतदाता नामावली अद्यावधिकका लागि पार्टीले निर्देशन जारी गरी परिचालन भएको छ। हामी सरकारलाई पूर्ण सहयोग गर्छौँ। घोषित मितिमा निष्पक्ष, धाँधली रहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्छ।
२. अन्य दलहरूलाई तयारीको आह्वान: माओवादी केन्द्रले सुरुदेखि नै निर्वाचन केन्द्रित अभियान चलाएको छ। त्यसैले नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका अन्य दलहरूलाई पनि तत्काल तयारी गर्न आग्रह गर्छौं।
३. चुनावी वातावरण निर्माण: सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ। हाम्रो पार्टीलाई लाग्छ, यसतर्फ सरकारको पर्याप्त ध्यान पुगेको छैन। तत्काल कदम चाल्न आवश्यक छ।
४. जेनजी आन्दोलन र आत्मालोचना: जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको थियो। हाम्रो पार्टीले आफ्ना कमजोरीहरू स्वीकार गरी आत्मालोचना गरेको छ। तर, तत्कालीन सत्ताधारी नेपाली कांग्रेस र नेकपा (एमाले) ले यस्तो आत्मालोचना गरेको सुनिएकाे छैन । याे आन्दोलनको भावना विपरीत हुन्छ। सबै दलहरूले आफूतर्फ पनि हेर्नुपर्छ।
५. एजेण्डा केन्द्रित चुनाव र सहकार्य: प्रतिनिधिसभा रहेको भए जेनजीका मागहरू सम्बोधन गर्न सजिलो हुन्थ्यो। अहिले निर्वाचनमा शासकीय स्वरूपसहितका संविधान जारी गर्ने समय देखिका हाम्रा मागहरूलाई एजेन्डा बनाएर जान्छौं। जेनजीहरूले पनि नयाँ दल गठन गर्ने वा एजेण्डा मिल्ने दलसँग सहकार्य गरी चुनावमा जानुकाे विकल्प छैन।
प्रकाशित मिति : 23:03









