२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एसियन विकास बैङ्क र विश्व बैङ्कबीच ३ अर्ब डलरको सम्झौता

३ कात्तिक, मनीला । एसियन विकास बैङ्क (एडिबी) ले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई थप आर्थिक सहायता दिनसक्ने गरी विश्व बैङ्कसँग ३ अर्ब अमेरिकी डलर बराबरको जोखिम साटफेर सम्झौता गरेको छ ।

एडिबीका अनुसार, यो सम्झौता विश्व बैङ्कसँगको पहिलो हो, तर अन्य बहुपक्षीय विकास बैंकहरूसँगको छैटौं सम्झौता हो । सन् २०२० यता गरिएका यस्ता सम्झौताहरूको कुल रकम नौ अर्ब डलर पुगेको छ ।

एडिबीकी वित्त तथा जोखिम व्यवस्थापन उपाध्यक्ष रोबर्टा कासालीले भन्नुभयो,“आजका जटिल चुनौतीहरूमाझ बहुपक्षीय बैङ्कहरूबीच सहकार्य अत्यावश्यक छ । यस्ता सम्झौताले हामीलाई जोखिम सन्तुलनमा राख्दै, अझ धेरै देशसम्म सहायता पुर्याउने अवसर दिन्छ ।”

विश्व बैङ्क समूहकी प्रमुख वित्त अधिकृत अंशुला कान्तका अनुसार, यो सम्झौताले बहुपक्षीय बैंकहरूबीच सहकार्य गर्दै कुल ऋण क्षमतामा विस्तार ल्याउने उद्देश्य राखेको छ ।

सार्वभौमिक जोखिम साटफेर भनेको यस्तो प्रणाली हो, जसले बैङ्कको जोखिम धेरै एउटै मुलुक वा क्षेत्रमा केन्द्रित नहोस् भनेर सन्तुलन कायम गर्छ । यसले पूँजीको प्रयोग कम गरी, थप ऋण दिन सक्ने क्षमता बढाउँछ।

एडिबीले जनाएको छ कि यस किसिमको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई आवश्यक परेको आर्थिक सहायता सजिलो र सुलभ बनाउनेछ ।

प्रकाशित मिति : October 20, 2025 at 5:17 pm