कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई ओलीको चुनौती
२ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएकाे छ ।
आइतबार काठमाडाैंमा सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले यस्तो चुनौती दिनुभएकाे हाे । प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गर्नुभएकाे थियाे । प्रचण्डको भनाइको खण्डन गर्दै ओलीले पत्र सार्वजनिक गर्न चुनौती दिनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘यो अन्तरिम सरकार संविधान अन्तरगत बनेको होइन । एउटा हल्ला छ । अस्ति प्रचण्डजीले भयानक झूट बोल्नुभो । केपी जीले सुशीलालाई सिफारिस गरेको मसित कागज छ, प्रमाण छ भन्नुभो । राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ, मलाई उपयुक्त निकास निकाल्नका लागि सिफारिस गर्नुस भन्नुभयो । मैले हुन्छ भनेँ । राष्ट्रपतिले आधिकारिक व्यक्तिको सिफारिसबिना केही गर्नु वाञ्छनीय हुँदैन र उहाँ कार्यकारी होइन । संविधान अनुसार हातमा लिनु हुँदैन । तर जटिल अवस्थामा मैले सिफारिस गर्दिनु वाञ्छनीय हुन्छ भन्ने लाग्यो ।
मेरो सिफारिसको भाषा नोट गर्नुभए पनि हुन्छ, मोबाइलमा रेकर्ड गर्नुभए पनि हुन्छ । मेरो भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु । यसमा सुशीला कार्की कतै सुन्नुभयो रु सुशीला कार्की भन्ने वा अर्को कोही भन्ने छैन । संविधान र संसद चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो । उहाहरु दुवैले त्यो स्वीकार गर्नुभएको थियो र मैले त्यस भाषामा सिफारिस गरेको थिएँ ।
प्रचण्डले मलाई निकै माया गर्नुहुन्छ । उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो । त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ । निक अन्योल राखिराख्ने । निकालिदिए भयो नि त ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:५४












