विद्यार्थीको हत्यामा ओलीले माफी मागेर छानविनमा सहयोग गर्नुपर्छः प्रकाश पौडेल
२ कात्तिक, काठमाडौँ । नेकपा एमालेका नेता प्रकाश पौडेलले भदौ २३ गते भएको हत्यामा तत्कालीन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माफी माग्नुपर्ने बताउनुभएको छ । समाजिक सञ्जाल फेसबुकमा अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले ‘युनिफम लगाएका विध्यार्थी मारिदै गर्दा अनेरास्ववियुको अध्यक्षमा रहन नैतिकताले नदिएको’ भनेर लेखेको टिप्पणी सेयर गर्दै पौडेलले ओलीले माफी मागेर छानविनमा सहयोग गर्नुपर्ने बताउनुभएको हो ।
अनेरास्ववियुको निर्वाचनमा कडरियाको प्रतिस्पर्धी समेत रहनुभएको पौडेलले भन्नुभएको छ, ‘२३ गते विद्यार्थीको हत्या भएको विषयमा हाम्रो पार्टी अध्यक्षले प्रधानमन्त्रीको रुपमा नैतिक माफी माग्नुपर्छ छानविनमा सघाउनुपर्छ र २४ गते देश जलाउनेलाई कारबाही मात्रै होइन उनीहरूको सम्पत्ति जफत गरेर निर्माणको अगुवाइ गर्नुपर्छ ।’

एमाले नेतृत्वको सरकारले नै युवा विद्यार्थीको हत्या गरेपछि भावुक भएर अनेरास्ववियुबाट राजिनामा दिनुभएको कडरियाले शनिबार पुनः सोही कुरा दोहोर्याउनु भएको थियो। एमाले केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष ओलीले डा कडरिया माथि भगौडाको टिप्पणी गरेपछि शनिबार जनआस्थाको एउटा पोस्टर सेयर गर्दै कडरियाले पुनः यस्तो कुरा दोहर्याउनुभएको हो । कडरियाको राजिनामा विवादमा परेपछि पुनः फिर्ता भएको थियो ।
पौडेलले ओली सरकारले युवा विद्यार्थीको हत्या गरेपछि अनेरास्ववियुका पाँच विश्वविद्यालय कमिटी र सयौँ नेता कार्यकर्ताले जिम्मेवारीबाट राजिनामा दिएको समेत उल्लेख गर्नुभएको छ । यही विषय सेयर गर्दै पौडेलले फेसबुकमा यस्तो टिप्पणी राख्नुभएको छ,
मित्र हामी प्रतिस्पर्धामा थियौँ
म अझै भन्छु हामीले देश track मा ल्याउन पर्ने छ
प्रश्न सोध्नु जवाफ खोज्नु सबैको दायित्व हो
२३ गते विद्यार्थीको हत्या भएको विषयमा हाम्रो पार्टी अध्यक्षले प्रधानमन्त्रीको रुपमा नैतिक माफी माग्नु पर्छ छानविनमा सघाउनुपर्छ र २४ गते देश जलाउनेलाई कारबाही मात्रै होइन उनीहरुको सम्पत्ति जफत गरेर निर्माणको अगुवाइ गर्नुपर्छ ।
झन्डै ५ विश्वविद्यालय कमिटी सयौँ हाम्रा योद्धाहरुले राजिनामा दिएका छन । हामी हाम्रो पार्टी लाई जनताको प्रिय पार्टी प्रमाणित गर्न ६० दिनको योजना बनाएर लागौ जहाँ पदको कुरा नहोस उद्देश्यको कुरा होस प्रकाश पौडेल मेची देखि महाकाली कहाँ उभिन पर्छ तयार छ ।
आज पार्टी मात्र होइन देश अफ्ट्यारोमा छ
यो समग्र अवस्था लाई ठिक गर्ने दाइत्व हाम्रो हो ।
देश अफ्ट्यारोमा छ विद्यार्थी बिचल्लीत छन जनता आक्रोसित छन सबैलाइ ठिक गर्न एक भएर लागौँ ।


प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार ०७:२३










