‘टिबेटियन ओरिजिनल ब्लड (TOB)’ समूहका नेता लामाको जन्मदर्ता नक्कली रहेको पुष्टि
१ कात्तिक, काठमाडौँ । ‘टिबेटियन ओरिजिनल ब्लड (TOB)’ समूहका नेता तेन्जिङ दावा लामाको जन्मदर्ता नक्कली रहेको ठहर भएको छ । काठमाडाैँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले यसको पुष्टि गर्नुभएको छ ।
प्रहरी हिरासतमा रहेका टीओबी कमान्डर लामाको जन्मदर्ताको विवरण ढड्डा खोज्दा केही पनि नपाइएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । वडा कार्यालयले जिल्ला प्रहरी कार्यालय काठमाडाैँमा तेन्जिङको जन्मदर्ताको विवरण नरहेको पत्र पाठउँदैछ ।
जन्मदर्ता नै नक्कली पाइएपछि अब तेन्जिङको नाममा जारी भएको नागरिकता, राष्ट्रियपिचयपत्र र राहदानी पनि रद्द हुने भएको छ । यद्यपी यसका लागि केही पक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
हतियारसहितको फोटो–भिडियो सार्वजनिक भएपछि प्रहरी नियन्त्रणमा पुगेका तेन्जिङको जन्मदर्ता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । तेन्जिङले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ । यद्यपी अभिलेखको तेन्जिङको विवरण केही पनि फेला परेन ।

भदाै २३ गते जेनजी प्रदर्शन र २४ गतेको विद्रोहमा हिंसा भड्काउन र महत्वपूर्ण भाैतिक संरचनामा अागजनी गर्ने काममा तेन्जिङको समूहको संलग्नता देखिएको छ । प्रदर्शन र विद्रोहमा घुसपैठको चर्चा चलिरहेको समयमा तेन्जिङको जन्दर्ता नै नक्कली पाइएको हो ।
तेन्जिङले सार्वजनिक गरेको जन्मदर्तामा उल्लेख भएको मितिमा शनिबार परेको र छाप दुइथरी भएपछि धेरैले प्रश्न उठाएका थिए । शनिबारको दिन काठमाडौँ महानगरपालिकाले कसरी जन्मदर्ता गर्यो ? एउटै प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ भनेर दुईवटा सरकारी छाप कसरी लाग्यो ? भन्ने विषय खोजी गर्नेक्रममा उनको जन्मदर्ता नक्कली भएको पुष्टि भएको हो ।
काठमाडौँको बिजुलीबजारस्थित धोबीखोला पुलमा उनले पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि तेन्जिङलाइ पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनको समूहले जेनजी प्रदर्शनमा पनि निकै शंकास्पद गतिबिधिहरू गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार २३:२३












