३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

नेपाललाई आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि

३१ असाेज, काठमाडाैँ । सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि जितेकाे छ । दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि ११४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो।

योसँगै नेपालले अपराजित रहेर विश्वकपमा स्थान बनाउन सफल भएकाे हाे। नेपालले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।

सामोयालाई सस्तैमा रोक्न नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। यस्तै करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक विकेट लिए । सामोयाका लागि सियन सोलियाले सर्वाधिक ४० रन बनाए। बेन्जामिन माइलताले ११ रन थपे भने अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा सामोयाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको योगफल तयार पारेको थियाे । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

dainiki.com

यस्तै दीपेन्द्र सिंह एरिले ३३ बलमा २ चौका र ४ छक्का सहयोगमा ५३ रन थपे। यसैगरि लोकेश बम ३९ र कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। यस्तै कुशल भुर्तेल १७ रनमा बोल्ड आउट भए । आरिफ शेखले ९ रन बनाए।

याेसँगै विश्वकपको एसिया इस्ट प्यासिफिक छनोटबाट नेपालसहित ओमान र युएईले स्थान पक्का गरेका छन् भने कतार, जापान र सामोया छनोट चरणबाटै बाहिरिएका छन्। छनोटको ५ खेलबाट १० अंक बनाएको नेपाल शीर्ष स्थानमा छ। ५ खेलबाट ८ अंक भएको ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक भएको युएई तेस्रो स्थानमा छ। आजै भएको सुपर सिक्सको पहिलो खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै ओमान दोस्रो स्थानमा उक्लेको हो।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १९:२३