२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

योगेशले ओलीलाई दिएको दुइ विकल्पः कार्यवाहक दिएर छाड्ने वा महाधिवेशनबाट हस्तान्तरण

३१ असाेज, काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनको विषय उठाउनुभएकाे छ । सचिव भट्टराईले मुलुकको पछिल्लो परिस्थितिबिच पार्टीले भावी दिशा तय गर्नुअगाडि केन्द्रीय कमिटी र पार्टी नेतृत्वको भूमिकाको समीक्षा गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक १६ पृष्ठ लामो प्रस्ताव पेश गर्नुभएकाे छ । प्रस्तावमा जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषय उठाइएको छ ।

विभिन्न परिस्थिति केलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न सुझाव दिँदै उहाँले यसका लागि दुई वटा विकल्प पनि दिनुभएकाे छ ।

एक, तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यबाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने ।

दोस्रो, पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने ।

उहाँले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा ओलीले गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने विकल्प सुझाउनुभएकाे हाे । ‘यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छाडिदिने,’ योगेशले भन्नुभएकाे छ ।

उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने पनि बताउनुभएकाे छ । पार्टी र आन्दोलन गम्भीर संकटमा रहेका बेला पार्टीभित्र असाधरण एकताको जरुरी रहेको उहाँको भनाइ छ ।

“हिजोको अवस्थामा पूर्वराष्ट्रपति एवं हाम्रो पार्टीका पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारी सदस्यता जे सुकै कारणले रोकिए पनि यो निर्णय परिवर्तन गरी पार्टीमा उहाँलाई सम्माजनक हैसियतमा राखेर उहाँको अनुभव र भूमिकामार्फत पार्टीलाई थप सृदढ र एकताबद्ध बनाउन हामी सबै एकमत हुनुपर्दछ,” उहाँले भन्नुभएकाे छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १७:११