१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

दुई पटक संसद विघटन गर्ने एमालेले पुनःस्थापनाको माग उठाउँदा हाँसोको पात्र हुन्छौँः अरबिन्द सिंह

३१ असाेज, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य अरविन्द सिंहले दुई दुई पटक प्रतिनिधि सभा विघटन गर्ने एमालेले  पुनःस्थापनाको माग उठाउँदा घृणा र हाँसोको पात्र हुने बताउनुभएकाे छ ।

शुक्रबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै सिंहले चुनावमा जानुको विकल्प नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दुई दुई पटक हामी आफैले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।’

दोस्रो विधान महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’ विश्लेषण २४ घन्टा नपुग्दै फेल भएको सिंहले बताउनुभयाे। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जाने ? भन्दै प्रश्न पनि गर्नुभयाे ।

‘भदौ २२ गतेको जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घन्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जाने होलारु हाम्रा विश्लेषणहरू वस्तुपरक हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ,’ सिंहले भन्नुभयाे ।

यस्तो छ उहाँको भनाइः

१. भदौ २२ गतेको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’ राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घंटा नपुग्दै फेल भयो । फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरू वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सकिने बाटोमा लैजान्छ ।

२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउँदैनौँ ।

३. २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो । जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमूर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ । विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ ।

४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढङ्गले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो ।

६. युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक सङ्घर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ठ ढङ्गले विश्लेषण गर्न जरुरी छ ।

७. जनसङ्गठनहरू कसरी चल्दैन भन्ने एउटा उदाहरण- टंक कार्कीदेखि समिक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो सङ्गठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी ?

८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानि नहुने तपाईँ पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।

९. दुई दुई पटक हामी आफैले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

१०. विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।

प्रकाशित मिति : October 17, 2025 at 1:17 pm