लाभांश प्रस्ताव पारित गर्न युनिलिभर नेपालले बोलायो साधारण सभा
३१ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
कम्पनीले कात्तिक २५ गते द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे सुरु हुनेछ।
सभाले सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले संस्थापक सेयरधनीको नामा सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १०:५५













