२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

३० असाेज, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिनुभएकाे हाे।

उहाँले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिनुभयाे । देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताउनुभयाे ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन्। मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १४:०९