१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

समयमा नै सेयर निष्काशन नहुँदा उर्जा क्षेत्रको १ खर्ब ८ अर्ब गुम्योः इप्पान

२९ असाेज, काठमाडौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डले ५० कम्पनीको सेयर समयमा नै निष्काशन नगर्दा १ खर्ब ८ अर्ब गुमाउनु परेको बताएको छ । इप्पानले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले ९७५ मेगावाट बराबरका ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको राइट सेयर निष्काशन हुन नसकेको बताउनुभयाे ।

समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्काशन हुन नसकेको उहाँले बताउनुभयाे । जसका कारण ऊर्जा क्षेत्रले एक खर्ब आठ अर्ब ५० करोड रुपैयाँ गुमाउनु परेको उहाँले दाबी गर्नुभयाे ।

खतिवडाले भन्न्ुभयाे, ‘हालसम्म ९७५ मेगावाट बराबरका ४३ कम्पनीले आईपीओ सेयर निष्काशन कुरिरहेका र ७ कम्पनीको राइट सेयर निष्काशन कुरिरहेका गरी ५० कम्पनीको समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्काशन हुन सकेको छैन भने यसको कारणले ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु परेको छ । जसमा समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज रकम बढेको छ भने २४ अर्ब ३० करोड ६७ लाख रुपैयाँ लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ राजस्व आम्दानी (इप्पानको अध्ययनको आधारमा) गुमेको छ ।’

उनका अनुसार २०८० सालको जेठपछि अर्थात विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरुको आइपीओ नियमित रुपमा निष्काशन भएको छैन भने थोरै कम्पनीको मात्र जारी भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १४:४२