३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

२७ असोज, काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार मुद्दा दर्ता गरेको हो ।

महराविरूद्ध भन्सार ऐन सम्बन्धी कसुर र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो। महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ।महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ। उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।

तर उनको बयान कागज गरिए पनि यसअघि प्रतिवादी बनाइएको थिएन। सिआइबीले आइतबार महरालाई पक्राउ गरेको थियो। पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १७:१२