नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल स्मारक पुरस्कार
२७ असोज, स्टकहोम । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ ।
मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, “मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।”
त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गर्नुभयो । उहाँहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गर्नुभयो — जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ ।
अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भन्नुभयो, “आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।”
गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको थियो । उहाँहरूले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।
अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गर्नुभएको थियो ।
स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला रहेका छन् ।
नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ ।
गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ ।
प्रकाशित मिति : October 13, 2025 at 4:04 pm









