१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

२६ असोज, मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको १ नं प्रदेश समितिको आजदेखि यहाँ सुरु भएको दुईदिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राख्नुभयो । उहाँले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराउनुभयो ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेनजीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनतासमक्ष जानुपर्ने बताउनुभयो । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हकअधिकार स्थापित गर्न भएको विचार राख्नुभयो ।

एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : October 12, 2025 at 6:17 pm