२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

बहुमतले मानिसको लिंग बाहेक सबै परिवर्तन गर्न सकिन्छ भन्ने कांग्रेस किन बहुमतको बिरोधमा ?

१४ माघ, काठमाडौँ । नेपाली कांग्रेस र उसका नेताहरूको दोहोरो चरित्र सबै जनताको सामू छर्लंग भैसकेको छ । उसको पछिल्लो गतिबिधिले आम जनतामा निराशा छ । सहि नीति र नेतृत्व दुबै नभएको कांग्रेस सानासाना विषयलाई उछालेर राजनीतिक स्वार्थ पूरा गर्ने काममा लागेको देखिन्छ । उसले पछिल्लो पटक नेपाल विद्यार्थी संघका पूर्व नेता डा गोविन्द केसीको अनशनलाई बजारिकरणको काम गर्ने प्रयत्न गर्दै आएको छ ।

सरकारले सीमित मेडिकल कलेजको सिण्डिकेट अन्त्य हुने गरी प्रतिनिधिसभा बैठकबाट बहुमतले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएसँगै विक्षिप्त बनेको कांग्रेस अहिले त्यही कानुनको बिरोधमा सडक संघर्षमा निस्किएको छ । आफ्नो भ्रातृ संस्थाको रूपमा उपयोग गर्दै आएको नेपाल चिकित्सक संघदेखि, नेविसंघ र तरूण दलसम्मलाई कांग्रेसले सडकमा उतारेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले कांग्रेस नेताको पछिल्लो तर्क र विश्लेषण माथि तिखो टिप्पणी गरेका छन । उनले बहुमतले मानिसको लिंग बाहेक सबै परिवर्तन गर्न सकिन्छ भन्ने कांग्रेस किन त्यही बहुमतको बिरोधमा लागेको रहेछ भन्ने प्रश्न गरेका छन । साथै उनले विगतमा कांग्रेसले के के गरेको थियो भन्ने विषयको सार्वजनिक स्मृति त्यति कमजोर नठान्न चेतावनी समेत दिएका छन ।

सल्लाहकार डा अर्यालले आफ्नो ट्वीटमा लेखेका छन ‘कांग्रेसको बहुमत थियो, उसकै सरकार थियो, केही मानिस कराउँथे: हामीले अवलम्बन गरेको संसदीय व्यवस्थामा बहुमतले मानिसको लिंग परिवर्तन वाहेक जे पनि गर्न सक्छ। आज तिनै उच्च स्वरमा भन्दै छन्: बहुमतका आधारमा विधेयक पारित गरेर निरंकुशताको अभ्यास भयो। सार्वजनिक स्मृति त्यति कम्जोर नठानौ।’

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार ११:१६