नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने
२६ असोज, काठमाडौं । नेशनल वायोटेकले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। गत मंगलबार बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाएको हो।
उक्त सभा काठमाडाैंकाे नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा आयोजना हुनेछ । सभामा साधारण सेयर सर्वसाधारणलाई जारी गर्न विशेष प्रस्ताव गरिने कम्पनीले जनाएको छ। साधारण सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सेयर जारी गर्न र बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिने छ।
साथै, उक्त सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्न, लेखापरीक्षणको प्रतिवेदनसहित चालु आर्थिक वर्षको असाढ मसान्तसम्मको वित्तीय विवरण, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्तिसहित पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरूमाथि छलफल गरिने छ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १३:४७












