एमाले सचिवालयमा आज छ सचिव र एक उपमहासचिवले ओलीको राजिनामा माग्दै
२६ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बाँकी बैठक सुरु भएको छ । शुक्रबार सुरू भएर शनिबार स्थगित भएको बैठक भक्तपुरस्थित ओलीको भाडाको निवास गुण्डुमा सुरु भएको हो ।
बैठकमा आज दुई उपमहासिवसहित सात सचिवले आफ्नो धारणा राख्नेछन । जसमध्ये उपमहासचिव विष्णु रिमालले ओलीको प्रतिरक्षा गर्नुहुनेछ भने उपमहासचिव पृथ्वी सुब्बा गुरूङसहित सचिवहरूले राजिनामा माग्नुहुनेछ ।
सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ र पद्माकुमारी अर्यालले ओलीको राजिनामा माग्नुहुनेछ । सचिवालय बैठकमा ओली अल्पमतमा परेपछि शनिबार बिरामी भनेर बाँकी पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

शुक्रबार अध्यक्षसहित नौ जनाले बोल्नुभएको थियो । जसमा अध्यक्ष ओली, उपाध्यक्ष गुरू बराल र महासचिव शंकर पोखरेलले प्रतिरक्षा गर्नुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षसहित अन्य सबै उपाध्यक्षले ओलीको राजिनामा माग्नुभएको थियो । उपमहासचिव प्रदीप ज्ञवालीले सन्तुलित कुरा गर्नुभएको थियो ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १३:०६








