केपी शर्मा ओलीलाई एमाले अध्यक्षबाट विदा दिन सचिवालयमा लिखित प्रस्ताव
२४ असोज, काठमाडौँ । जेनजी पुस्ताको भ्रष्टाचारविरूद्धको प्रदर्शनमा दमन गर्दा सत्ता छाडेर भाग्नुपर्ने परिस्थितिमा पुग्नुभएको नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वबाट विदा गर्न सचिवालय बैठकम लिखित प्रस्ताव पेश भएको छ ।
शुक्रबारदेखि भक्तपुरको गुण्डुमा रहेको अध्यक्ष ओलीको भाडाको घरमा भएको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखितरूपमै अध्यक्ष ओलीलाई राजिनामा दिन अनुरोध गर्नुभएको छ ।
एमाले अब पुरानै अर्थाल ओलीको सोच र शैलीबाट पार्टी चल्न नसक्ने भन्दै लिखित रूपमै भनाइ राखेको दैनिकीको सम्पर्कमा आउनुभएको एमालेका एक उपाध्यक्षले जानकारी दिनुभयो । ओलीले तत्कालै नेतृत्व छाड्नुपर्ने पक्षमा आज पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल उभिनुभएको छ ।
युवा पुस्ताको आन्दोलनको मर्म र मागअनुसार देशको परिवर्तनको लागि अझ सशक्त नेतृत्व चाहिने भनाइ सचिवालय सदस्यहरूले राख्नुभएको छ । शुक्रबार सचिवालयका अध्यक्षसहित नौ जनाले धारणा राखेका छन । वरिष्ठ उपाध्यक्ष पोखरेलसहित पाँच उपाध्यक्ष, महासचिव तथा एक उपमहासचिवसम्मले शुक्रबार बोल्नुभएको छ ।
शुक्रबार बोल्ने नौ जना मध्ये अध्यक्ष ओली, उपाध्यक्ष गुरू बराल र महासचिव शंकर पोखरेलले मात्र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनुभएको छ । उपमहासचिव प्रदीप ज्ञवाली नेतृत्वको प्रतिरक्षा वा राजिनामा दुबैको बाटोमा देखिनुभएन । उहाँले निर्मम समिक्षा गरेर अघि बढ्नुपर्ने भन्दै त्यत्रो हत्या र विध्वंश हुँदा सरकारको प्रमुखले थाहा पएन भनेर उम्किन नमिल्ने बताउनुभएको छ ।

अब शनिबारको बैठकमा उपमहासचिवद्धय पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल तथा सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्यालले बोलेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन । शनिबार बोल्नेमा रिमालबाहेक सबैले ओलीको राजिनमा माग्ने निश्चित भएकाले ओलीले अध्यक्ष तत्काल नछाड्नका लागि महाधिवेशनको मिति सचिवालयबाटै घोषणा गर्ने गरी तयारी गर्नुभएको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार २१:४८








